×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

४ दिनको वृद्धिपछि नेप्सेमा करेक्सन, कारोबार रकम ८ अर्ब ९२ करोड

४ दिनको वृद्धिपछि नेप्सेमा करेक्सन, कारोबार रकम ८ अर्ब ९२ करोड

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला ४ कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्सेमा यस दिन करेक्सन भएको हो।

पछिल्ला ४ कारोबार दिनमा नेप्से परिसूचक करिब ८० अंक बढेको थियो। बजार बढेको मौकामा अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन नेप्सेमा करेक्सन भएको हो। नेप्से परिसूचक यस दिन ९.४३ अंक घटेर २ हजार ७ सय ५ दशमलव ३८ विन्दुमा झरेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ११ अर्ब ८५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२४ स्टकको ८९ हजार ७६६ पटकको कारोबारमा ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार रुपैयाँबराबरको २ करोड १६ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक ०.२६ प्रतिशत बढेको हो। यस दिन वित्त, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४३ करोड ३६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम ३३ करोड रुपैयाँ नाघेको छ।

यस दिन कालिका पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९।८४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने रिभर फल्स पावरको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ।

प्रतिकृया दिनुहोस्