काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।
सोमबार नेप्से परिसूचक ६.७४ अंक बढेर २ हजार ६ सय १ दशमलव ६१ विन्दुमा पुगेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ४ अर्ब रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२९ स्टकको ५६ हजार १२२ पटकको कारोबारमा ३ अर्ब ४४ करोड १९ लाख ३ हजार रुपैयाँबराबरको ७७ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ। यस दिन होटल तथा पर्यटन, लगानी, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य घटेको हो।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड २५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ भने नेपाल एसबिआई बैंकको करिब साढे १३ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको शेयर सकारात्मक सर्किट लागेको हो। त्यस्तै, यस दिन श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर साढे ४ प्रतिशतभन्दा कम रहेको छ।