काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला ३ कारोबार दिनदेखि बढीरहेको नेप्से, यस दिन भने घटेर बन्द भएको हो। सोमबार नेप्से परिसूचक १०.५३ अंक घटेर २ हजार ६ सय २२ दशमलव ८८ विन्दुमा झरेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ५ अर्ब ५३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३७ स्टकको ६९ हजार ५४८ पटकको कारोबारमा ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार रुपैयाँबराबरको १ करोड ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। यस दिन घटेका उपसमूहहरुको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल नै शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड २ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन मञ्जुश्री फाइनान्सको करिब १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम साढे १३ करोड रुपैयाँ नाघेको छ।
यस दिन एसवाई प्यानल नेपालको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन ग्लोबल आइएमई समुन्नत योजना २ को इकाईमूल्य करिब १० प्रतिशत बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ।