काठमाडौं । रेसुङ्गा विमानस्थलबाट हप्ताको चार दिन नियमित हवाई उडान सञ्चालन हुँदै आएको छ । नेपाल एअरलाइन्सको जहाजमार्फत आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भइरहेका छन् ।
पछिल्लो समय अधिकांश उडान तालिकाअनुसार सञ्चालन भइरहेका छन् । लामो समयसम्म उडान अनियमित हुँदा समस्या भोग्दै आएका जिल्लावासीका लागि अहिलेको नियमितताले हवाई यात्रामा उल्लेखनीय सहजता ल्याएको छ ।
गत शनिबार जहाज निर्धारित समयभन्दा केही ढिलो गरी बिहान ११:२९ बजेरमा रेसुङ्गा विमानस्थलमा अवतरण गरेको थियो । नियमित तालिकाअनुसार काठमाडौंबाट बिहान ६:३० बजे र गुल्मीबाट काठमाडौंतर्फ बिहान ७ः४५ बजे उडान हुने व्यवस्था छ ।
काठमाडौंसहित अन्य स्थानसँग गुल्मीलाई हवाई मार्गबाट जोड्ने उडानले सर्वसाधारण, बिरामी, सरकारी तथा निजी क्षेत्रका कर्मचारी र व्यवसायीहरूलाई ठूलो राहत मिलेको छ ।
हाल काठमाडौं–रेसुङ्गा हवाई भाडा ७ हजार ५ सय रुपैयाँ र रेसुङ्गा–काठमाडौं ७ हजार ३ सय रुपैयाँ तोकिएको छ ।