दमौली । जिल्लाको डुम्रे बेँसीसहर सडकखण्ड आंशिक समय अवरुद्ध गरिएको छ । डुम्रे-बेँसीसहर-चामे सडक आयोजनाअन्तर्गत भानु नगरपालिका क्षेत्रभित्र पर्ने चाम्बासबाट ढुकुर्दी क्षेत्रसम्मको सडकखण्ड स्तरोन्नतिका लागि आंशिक रूपमा अवरुद्ध गरी काम थालिएको हो ।
उक्त क्षेत्रमा सडक उत्खनन गर्नुपर्ने भएकाले सम्भावित दुर्घटना न्यूनीकरण तथा निर्माणलाई सहज रूपमा सम्पन्न गर्न निश्चित समयका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयका प्रशासकीय अधिकृत विकालस श्रेष्ठले जारी गरेको सूचना अनुसार सोमबारदेखि माघ १५ गतेसम्म उक्त सडकखण्डमा बिहान ६ः०० बजेदेखि ९ः०० बजेसम्म, बिहान ११ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म र साँझ ५ः०० बजेदेखि ९ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
उक्त अवधिमा डुम्रे-बेँसीसहर-चामे सडक प्रयोग गर्ने सवारीसाधन, यात्रु तथा सर्वसाधारणलाई कठिनाइ हुनसक्ने भएकाले अत्यावश्यक काम परेमा वैकल्पिक रूपमा तुरतुरे(पालुङटार(खत्रीटार हुँदै विमलनगरको सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।