रौतहट । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले रौतहटको गौर क्षेत्रमा देखिएको साम्प्रदायिक तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । पछिल्ला केही दिनयता गौर नगरपालिका–स्थित सबगढा लगायत आसपासका बस्तीमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवादले तनावको रूप लिँदा स्थानीय बासिन्दामा त्रासको वातावरण सिर्जना भएको छ।
रौतहट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका नेता नेपालले शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै सामाजिक सद्भाव खलबलिने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे। उनले भने, “हिन्दु होस् वा मुस्लिम, कुनै पनि नागरिकको जीवन र सुरक्षामाथि खतरा उत्पन्न हुनु लोकतान्त्रिक समाजका लागि लज्जास्पद विषय हो। आपसी अविश्वास र उक्साहटले समस्या झन् जटिल बनाउँछ, त्यसैले सबै पक्ष संयमित र जिम्मेवार बन्न आवश्यक छ।”
उनका अनुसार गौरको सबगढा क्षेत्रमा सानो विवादका रूपमा सुरु भएको विषयले साम्प्रदायिक रंग लिन खोजेपछि स्थिति संवेदनशील बनेको हो। केही स्थानमा ढुंगामुढा र झडपका घटनासमेत भएको स्थानीय स्रोतले जनाएको छ। घटनापछि सर्वसाधारणले घरबाहिर ननिस्कने अवस्था बनेको, बजार आंशिक रूपमा बन्द भएको तथा सुरक्षाकर्मीको उपस्थिती बढाइएको जानकारी प्राप्त भएको छ।
नेता नेपालले सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको परम्परा रौतहटको पहिचान भएको उल्लेख गर्दै त्यसलाई कुनै पनि हालतमा कमजोर पार्न नदिन सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा युवाहरूलाई संयम अपनाउन आग्रह गरे। “हामी बहुजातीय, बहुभाषिक र बहुधार्मिक समाजमा बस्छौं। विविधता हाम्रो शक्ति हो, कमजोरी होइन,” उनले भने, “द्वन्द्व र विभाजनको राजनीति अन्त्य हुनुपर्छ।”
उनले स्थिति नियन्त्रणमा लिन सरकार र सुरक्षा निकायसँग निरन्तर संवाद भइरहेको जानकारी दिए। गृहमन्त्रीसँग टेलिफोन संवाद गरी शान्ति–सुरक्षा प्रभावकारी रूपमा कायम गर्न आवश्यक सबै कदम चाल्न सुझाव दिएको उनको भनाइ छ। “आवश्यक परे निषेधाज्ञा (कफ्र्यू) जारी गर्ने, सशस्त्र प्रहरी बलको परिचालन बढाउने तथा अवस्था गम्भीर भएमा नेपाली सेनासमेत तयारी अवस्थामा राख्ने विषयमा छलफल भएको छ,” उनले बताए।
नेपालले घटनाको निष्पक्ष छानबिन गरी दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए। “उक्साहट फैलाउने, सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रवाह गर्ने वा हिंसात्मक गतिविधिमा संलग्न जो–कोहीलाई कानुनअनुसार कारबाही हुनुपर्छ,” उनले भने, “दण्डहीनताले समस्या समाधान गर्दैन, झन् बढाउँछ।”