काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन २ प्रतिशभन्दा बढी बढेर बन्द भएको हो।
आइतबार नेप्से परिसूचक ५७.५५ अंक बढेर २ हजार ७ सय ७२ दशमलव १७ विन्दुमा पुगेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। गत बिहीबार ९ अर्ब ७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३१ स्टकको १ लाख ३३ हजार ५२९ पटकको कारोबारमा १३ अर्ब ७८ कराड ५७ लाख २९ हजार रुपैयाँबराबरको ३ करोड ९ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.३५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत, लगानी, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४३ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन ग्रीन भेन्चर्सको साढे ३९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम ३२ करोड रुपैयाँ नाघेको छ।
यस दिन ९ स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन एसवाई प्यानल नेपाल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केवबलकार, हिमस्टार उर्जा, माबिलुङ्ग इनर्जी, रिलायन्स फाइनान्स, आँखु खोला जलविद्युत कम्पनी र त्रिशुली जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लागेको हो। त्यस्तै, यस दिन क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल वेयरहाउजिङ्गको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ।