काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार घटेर बन्द भएको नेप्से, यस दिन सामान्य अंक बढेर बन्द भएको हो।
बिहीबार नेप्से परिसूचक ४.५९ अंक बढेर २ हजार ६ सय ४० दशमलव ५४ विन्दुमा पुगेको छ।नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। बुधबार ५ अर्ब १७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२८ स्टकको ६९ हजार २६१ पटकको कारोबारमा ४ अर्ब ९० करोड ८० लाख ९४ हजार रुपैयाँबराबरको १ करोड ४ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, हाटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको हो।
कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २० करोड ६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन बन्दीपुर केबलकार एण्ड टुरिजमको साढे १७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने सान्भि इनर्जीको कारोबार रकम साढे १५ करोड रुपैयाँ नाघेको छ।
यस दिन सान्भि इनर्जीको शेयरमूल्य सर्वाधिक ८।१६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन एसवाई प्यानल नेपालको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ।