भद्रपुर । चालु आर्थिक वर्ष २०८२र०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा ५ अर्व ५३ करोड ३२ लाख ४९ हजार रुपैयाँ बराबरको अलैची निर्यात भएको छ ।
पाँच महिनाको अवधिमा दुई हजार ६२२ दशमलव १० मेट्रिक टन अलैँची निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष २०८१र०८२ को सोही अवधीमा रु तीन अर्ब ४५ करोड ६३ लाख बराबरको अलैँची निर्यात भएको उनले बताए।
कार्यालयको तथ्याङ्अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा चियाको निर्यात ३१ दशमलव ४० प्रतिशतले घटेको छ । उक्त अवधिमा १ अर्व ८५ करोड ६२ लाख ७ हजार रुपैयाँ मूल्य बराबरको चिया निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१र०८२ को सोही अवधिमा २ अर्व ७० करोड ३९ लाख ३६ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईले जानकारी दिए ।
कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा भेनीयर सिट १२९ दशमलव ९० प्रतिशत, छुर्पी ३२ प्रतिशत, अदुवा, सुठो ४८ दशमलव ७० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६ दशमलव १० र मुसुरो दाल ४८१ प्रतिशतले वृद्धि भएको छ । यसैगरी प्लाउड ४६ प्रतिशत, अम्रिसो ३५ दशमलव ५० प्रतिशत र फलामे पाता निर्यातमा ९७ दशमलव ८० प्रतिशतले कमी आएको छ ।
मेची भन्साबाट चालु आर्थिक वर्ष २०८२र०८३ को पहिलो पाँच महिनामा १० अर्ब ७१ करोड ५४ लाख १३ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ ।