काठमाडौं । रणवीर सिंह अभिनित बलिउड फिल्म ‘धुरन्धर’ सन् २०२५ मा विश्वव्यापी रूपमा नेपालमा १० करोड ग्रसको आँकडा पार गर्ने देखिएको छ । विहिबार दिउँसोसम्म फिल्मले सिनेपाः बक्सअफिसमा ८ करोेड ५० लाख कमाएको छ ।
बलियो ‘वर्ड अफ माउथ’ को मद्दतमा क्रिसमस र आउने सप्ताहन्तमा फिल्मले राम्रै कमाइ गर्ने देखिन्छ । यो फिल्म ‘स्त्री २’ लाई उछिन्दै बुधबार भारतमा दोस्रो धेरै कमाउने हिन्दी फिल्म बनिसकेको छ ।
सन् २०२५ मा नेपालमा कमै विदेशी फिल्मले मात्र १० करोडको आँकडा पार गर्न सके । ‘धुरन्धर’ त्यो उपलब्धितर्फ अघि बढेको देखिन्छ ।
यस फिल्मले भारतीय विदेश मन्त्रालयले पाकिस्तानमा सञ्चालन गरेको 'धुरन्धर' नामक गोप्य जासूसी अप्रेसनको कथालाई समेटेको छ। फिल्ममा रणवीर सिंहले भारतीय जासूसको प्रभावशाली भूमिका निर्वाह गरेका छन् भने अक्षय खन्नाले पाकिस्तानी राजनीतिज्ञ 'रहमान डकैत' को रूपमा सशक्त अभिनय गरेका छन्।
फिल्मले उत्तर अमेरिका (अमेरिका र क्यानडा) क्षेत्रमा उत्कृष्ट व्यापार गरेको छ। यद्यपि, पाकिस्तान विरोधी कथावस्तु भएको भन्दै केही खाडी मुलुकहरूले भने फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाएका छन्।
फिल्मको भाग २ मार्च २०२६ मा रिलिज हुने अपेक्षा छ ।