×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृहको १० बुँदे निर्देशन

७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृहको १० बुँदे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १०बुँदे निर्देशन पठाएको छ । तराई तथा मधेसका केही जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव खलबल्याउने गरी  घटना भएपछि गृहले यस्तो निर्देशन दिएको हो । 

गृह मन्त्रालयकी उपसचिव तथा सूचना अधिकारी रमा आचार्य सुवेदीद्वारा जारी निर्देशनमा सबै प्रमुख जिल्ला अधिकारीलाई कानुनले निषेध गरेका त्यसका गैरकानुनी क्रियाकलापमा लाग्ने जो कोहीलाई अविलम्ब कानुनी दायरामा ल्याई कारबाही प्रक्रिया सुरु गर्न भनिएको  छ । 

त्यसैगरी धार्मिक, सामाजिक, एवम् सांस्कृतिक सद्भाव र सहिष्णुता प्रवर्द्धन गर्न सरोकारवालासहितको समन्वय बैठक गर्न निर्देशन दिइएको छ । त्यसका लागि जिल्लास्थित राजनीतिक दलका प्रमुखहरू, सामाजिक, सांस्कृतिक एवम् धार्मिक क्षेत्रका अगुवाहरूलाई सद्भावका लागि सार्वजनिक आह्वान गर्न निर्देशन दिइएको छ । 

सबै पक्षहरूको सहभागितामा सद्भाव र्‍याली आयोजना गरी त्यस्ता घटनाहरू बढ्न नदिने र सीमा क्षेत्रमा हुने आवागमनलाई कडाइका साथ चेक जाँचको व्यवस्था मिलाउन पनि गृहको सर्कुलरमा उल्लेख छ ।

स्थानीयस्तरमा समेत विभिन्न सञ्चार माध्यमहरूबाट स्थानीय भाषामा सामाजिक सद्भाव बढ्ने खालका कार्यक्रम सञ्चालन गर्न र प्रदेश तथा स्थानीयस्तरमा समन्वयात्मक र प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालनमा जोड दिन निर्देशन गरिएको छ । 

यस्तै, बुँदा नम्बर ७ मा, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्सीय जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति गठन गरी क्रियाशील गर्ने गराउने बारे निर्देशन गरिएको छ । समितिमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू सदस्य, जिल्लास्थित राजनीतिक दलका अध्यक्ष वा प्रतिनिधि सदस्य, नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला अध्यक्ष, पत्रकार महासंघका जिल्ला अध्यक्ष, नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुखले तोकेको प्रतिनिधि र सामाजिक, सांस्कृतिक एवम् धार्मिक क्षेत्रका अगुवा सदस्य रहने समिति गठन गरिएको छ ।
 
यस्तै, विगतका वर्षहरूमा घटनाहरूको अभिलेखको आधारमा विवाद हुन सक्ने सम्भावित कार्यक्रम वा पर्वहरूको सूची तयार गरी वार्षिक क्यालेन्डर तयार गर्ने गरीसमेत काम गर्न निर्देशन गरिएको गृहमन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्