काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिमण्डल विस्तार गरेकी छन् । शुक्रबार ४ मन्त्रीहरुले शपथग्रहण गरेसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ ।
प्रधानमन्त्री कार्कीले आफूसँग प्रधानमन्त्रीसहित परराष्ट्र, रक्षा र खानेपानी मन्त्रालयको जिम्मेवारी राखेकी छन् । त्यस्तै रामेश्वरप्रसाद खनाललाई अर्थसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिइएको छ ।
कुलमान घिसिङलाई उर्जा, जलस्रोत तथा सिँचाइसहित भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
ओम प्रकाश अर्याललाई गृहमन्त्रालयको मात्रै जिम्मेवारी दिइँदा अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यता महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मदनप्रसाद परियारलाई कृषि तथा पशुपन्छी विकास, जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि, सुधा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै जिम्मेवारीमा रहेका छन् । त्यस्तै युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ता नै रहेका छन् ।
कुमार इङ्नामलाई भूमि व्यवस्था मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई श्रम मन्त्रालय, माधव चौलागाईंलाई वन मन्त्रालय तथा श्रद्धा श्रेष्ठलाई महिला मन्त्रालयको जिम्मेवारी दिएकी छन् ।