×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शिक्षा

सातै प्रदेशमा त्रिविको दीक्षान्त, कुन प्रदेशबाट कति ?

सातै प्रदेशमा त्रिविको दीक्षान्त, कुन प्रदेशबाट कति ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सातै प्रदेशमा दीक्षान्त समारोहको आयोजना गर्दै छ । यसअघि काठमाडौंमा मात्र गर्दै आएकोमा यसवर्षदेखि सातै प्रदेशमा गर्न लागेको हो । समारोहोमा सहभागी हुन प्रदेश अनुसार नै आवेदन खुलाएको थियो । तर सोचे अनुसार प्रदेशबाट कम आवेदन आएको छ । त्रिविका परीक्ष नियन्त्रक लक्ष्मण पौडेलका अनुसार ९५ हजार ५४० विद्यार्थीको ग्रेसलिस्ट पास भएकोमा समारोहमा सहभागी हुन २१ हजार २७४ जना विद्यार्थीले आवेदन दिएका हुन् । उनका अनुसार बागमती प्रदेशबाट सबैभन्दा धेरै १४ हजार ६८१ विद्यार्थीको आवेदन परेको छ ।

गण्डकीमा २ हजार २१५, कर्णालीमा १५९, कोशीमा २ हजार १०, लुम्बिनीमा १ हजार ५५४, मधेशमा ३६४ र सुदूरपश्चिम प्रदेशबाट २८१ जना विद्यार्थीले समारोहमा सहभागी हुन आवेदन दिएका छन् । संख्या थोरै भएपनि प्रदेश–प्रदेशमा समारोहको आयोजना गर्ने नियन्त्रक पौडेलले बताए । ‘आवेदन माग्दा नै प्रदेश अनुसार मागेका छौँ । मंसिर पहिलो सातमा सबै टुंगो लगाउछौँ,’ उनले भने ।

त्रिविमा १ असार २०८२ सालदेखि २०८३ साल असार मसान्तसम्म विभिन्न तह उत्तीर्ण गरेका कुल ९५ हजार ५४० विद्यार्थी दीक्षान्तका लागि योग्य रहेको थिए । कुल विद्यार्थीमध्ये प्राविधिकतर्फ १५.१० प्रतिशत र साधारणतर्फ ८४.९० प्रतिशत रहेका छन् । यस्तै, एमफिलतर्फ २५३, पीजीडीतर्फ १८४ र विद्यावारिधितर्फ १६६ जना रहेका छन् ।

संकायगत रूपमा व्यवस्थापन संकायबाट सबैभन्दा धेरै ४३ हजार १४२ विद्यार्थी उत्पादन भएका छन् । शिक्षाशास्त्र संकायबाट १९ हजार ५३३, मानविकी तथा सामाजिकशास्त्र संकायबाट १५ हजार ४४१ र कानुन संकायबाट ३ हजार १ विद्यार्थी रहेका छन् ।

त्यस्तै, विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ६ हजार ६८८, इन्जिनियरिङ अध्ययन संस्थानबाट ५ हजार १६०, चिकित्साशास्त्र अध्ययन संस्थानबाट १ हजार ९२०, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबाट ४६३ र वन विज्ञान अध्ययन संस्थानबाट १९२ विद्यार्थी दीक्षान्तका लागि योग्य भएका छन् ।

प्रतिकृया दिनुहोस्