काठमाडौं । सोमबार, नेपाली शेयर बजार बन्द रहने भएको छ। यस दिन सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा भएकोले शेयर बजार बन्द रहने भएको हो।
अब दोस्रो बजार भोली खुला हुनेछ। गत साता पनि बजार तीन कारोबार दिनका लागि मात्र खुलेको थियो।
सेयर बजारसँगै आज बैंक तथा वित्तीय संस्थाहरू पनि बन्द छन्। त्यसैले सेयर कारोबार, बैंकिङ सेवा तथा कर्जा–निक्षेपसम्बन्धी गतिविधि आज बन्द रहने भएको छ। अब नेप्सेमा नियमित कारोबार भोलि पुनः सुरु हुनेछ।
यसैबीच, तामाङ समुदायले आज सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्। मञ्जुश्री पात्रोअनुसार आजबाट २८६२ औँ वर्ष प्रारम्भ भएको छ। सर्प वर्ष समाप्त भई घोडा वर्ष प्रवेश भएको हो।
अघिल्लो कारोबार दिन अर्थात आइतबार नेप्से परिसूचक ३१.१२ अंक बढेर २६७२.५५ विन्दुमा पुगेको थियो। सो दिन नेप्सेमा करिब साढे ८ अर्बको शेयर कारोबार भएको थियो।