×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

११ महिनामा त्रिभुवन विमानस्थलबाट ७८ लाख १७ हजार यात्रुले लिए सेवा

११ महिनामा त्रिभुवन विमानस्थलबाट ७८ लाख १७ हजार यात्रुले लिए सेवा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ महिना ९जनवरी–नोभेम्बर २०२५० मा ७८ लाख १७ हजार ३ सय ४९ यात्रुले सेवा लिएका छन् । तीमध्ये अन्तर्राष्ट्रियतर्फ ४० लाख ९८ हजार ५ सय ४९ र आन्तरिकतर्फ ३७ लाख १८ हजार ८ सयले सेवा लिएका हुन् । 

यो अवधिमा काठमाडौं विमानस्थलबाट २० लाख ९४ हजार ८ सय ७७ यात्रु विदेश उडेका छन् । विदेशबाट २० लाख ३ हजार ६ सय ७२ जना नेपाल आएका छन् ।

त्यस्तै आन्तरिकतर्फ ११ महिनामा १९ लाख ३६ हजार ४ सय २६ यात्रुले काठमाडौं छाडेका छन् । अन्य आन्तरिक विमानस्थलबाट काठमाडौं अवतरण गरेका यात्रु संख्या १७ लाख ८२ हजार ३ सय ७४ रहेको प्राधिकरणको तथ्यांक छ ।

नोभेम्बरसम्म काठमाडौंमा अन्तर्राष्ट्रिय उडानका जहाज १४ हजार १ सय २५ पटक अवतरण गरेका छन् । १४ हजार १ सय २६ पटक जहाजले उडान भरेका छन् ।

त्यस्तै आन्तरिकतर्फ काठमाडौंमा ४२ हजार २ सय ६४ पटक जहाज अवतरण गरेका छन् । ४२ हजार २ सय ७८ पटक जहाजले उडान भरेको प्राधिकरणको आँकडा छ ।

प्राधिकरणका अनुसार कार्गोतर्फ अन्तर्राष्ट्रियतर्फ कुल २ करोड २५ लाख १० हजार २ सय २ किलो ओसारपसार भएको छ । त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय व्यापारको मुख्य हवाई बिन्दुमध्ये एक हो । आन्तरिकतर्फ यस विमानस्थलबाट कुल ३० लाख ३० हजार ८ सय ८ किलो सामान ओसारपसार भएको छ ।

त्रिभुवन विमानस्थलले सन् २०२४ मा रेकर्ड ब्रेक संख्यामा यात्रु व्यवस्थापन गरेको थियो । त्यस वर्ष कुल ९४ लाख २३ हजार ७ सय २५ यात्रु व्यवस्थापन भएको थियो । सन् २०२३ मा ८६ लाख ५४ हजार यात्रु व्यवस्थापन गरिएको छ ।

यस विमानस्थलको क्षमता वार्षिक ८० लाख हाराहारी छ । त्रिभुवन विमानस्थलले अहिले क्षमताभन्दा बढी संख्यामा यात्रु व्यवस्थापन गरिरहेको छ ।

यात्रु चाप काठमाडौंमा केन्द्रित हुँदा अन्य दुई विमानस्थलमा भने अन्तर्राष्ट्रिय उडानको चाप छैन । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले ११ महिनामा कुल १३ हजार ४ सय ३२ अन्तर्राष्ट्रिय यात्रुलाइ सेवा दिएको छ । जसमध्ये ७ हजार १ सय ७ यात्रु प्रस्थान गरेका छन् भने ६ हजार ३ सय २५ यात्रु आगमन भएको छ ।

यस विमानस्थलमा आन्तरिक यात्रु आगमन ३ लाख ४१ हजार ४ सय ६३ र प्रस्थान ३ लाख ३३ हजार ८ सय ७१ छ । पोखरा विमानस्थलका हकमा भने आन्तरिक र वाह्य दुवै यात्रु संख्या एकै ठाउँमा जोडिएको छ ।

पोखराले ११ महिनामा कुल ७ लाख ९८ हजार ७ सय ९१ यात्रुलाई सेवा दिएको छ । जसमध्ये ३ लाख ८३ हजार ७ सय ५७ यात्रु आगमन भएको छ । ४ लाख १५ हजार ३४ यात्रु प्रस्थान गरेका छन् ।

प्रतिकृया दिनुहोस्