काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक (साउन–भदौ–असोज) को त्रैमासिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गरेको छ। स्थिर मूल्यमा आधारित मौसमी प्रभाव असमायोजित तथ्याङ्क अनुसार यस अवधिमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ३.०२ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान गरिएको छ।
विद्युत उत्पादन तथा वितरण, वित्तीय क्रियाकलाप, व्यापार सेवा, पर्यटन आगमन, पशुजन्य उत्पादन, फलफूल तथा तरकारीजस्ता क्षेत्रमा देखिएको उल्लेख्य वृद्धिले समग्र अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ धकेलेको हो। यद्यपि खाद्यान्न वाली, वनपैदावर, निर्जीवन बीमा तथा निर्माण सामग्री उत्पादनमा संकुचन देखिए पनि अन्य क्षेत्रको योगदानले समग्र वृद्धिदरलाई स्थिर राख्न मद्दत गरेको छ।
मौसमी प्रभाव समायोजित तथ्याङ्क अनुसार भने २०८१/८२ को चौथो त्रैमासिकको तुलनामा चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा १.६८ प्रतिशत संकुचन भएको अनुमान गरिएको छ। यस अवधिमा १८ औद्योगिक वर्गीकरणमध्ये १३ क्षेत्रमा ऋणात्मक वृद्धिदर देखिएको छ। विद्युत तथा ग्याँस क्षेत्रले सबैभन्दा बढी १४.९१ प्रतिशत वृद्धि गरेको छ भने वित्तीय तथा बीमा क्षेत्रमा ७.०७ प्रतिशत र पेशागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलापमा ५.५२ प्रतिशत वृद्धि भएको छ। कृषि क्षेत्रमा धान उत्पादन घटे पनि पशुपन्छी, तरकारी तथा फलफूल उत्पादनमा सामान्य वृद्धि भएकाले कुल मूल्य अभिवृद्धि १.३६ प्रतिशतले बढेको अनुमान गरिएको छ।
थोक तथा खुद्रा व्यापार क्षेत्रमा ३.८९ प्रतिशत वृद्धि भएको छ भने पानी आपूर्ति, ढल व्यवस्थापन क्षेत्रमा १.११ प्रतिशत र मानव स्वास्थ्य तथा सामाजिक क्रियाकलापमा १.१९ प्रतिशत मात्र वृद्धि भएको छ।