काठमाडौं । यस वर्ष चैते धान उत्पादनमा वृद्धि भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सञ्चालित २१ जोन तथा ५ सुपर जोन कार्यक्रम लागु भएका २६ जिल्लामा चैते धान उत्पादन वृद्धि भएको देखिएको हो ।
गत आर्थिक वर्ष २०८१/८२ मा चैते धान उत्पादन ३८ हजार ९ सय ३८ टनले बढेको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम व्यवस्थापन एकाइका अनुसार गत आव १७ हजार ४ सय ८६ हेक्टरमा चैते धान खेती गरिएको थियो । जसबाट १ लाख १ हजार ४ सय १८ टन धान उत्पादन भएको छ ।
त्यति क्षेत्रफलमा चैते धान उत्पादकत्व प्रतिहेक्टर ५.८० टन पुगेको छ । यसलाई अघिल्लो आव २०८०/८१ सँग तुलना गर्दा उत्पादनमा झनै वृद्धि भएको देखिन्छ । २०८०/८१ मा ११ हजार ३ सय ६० हेक्टरमा चैते धान खेती गरिएको थियो । उक्त क्षेत्रफलमा ६२ हजार ४ सय ८० टन उत्पादन भएको थियो, जसको उत्पादकत्व ५.५० टन प्रतिहेक्टर थियो ।
यसरी हेर्दा गत वर्ष चैते धान खेती गरिएको क्षेत्रफलमा ६ हजार १ सय २६ हेक्टरले वृद्धि भएको छ । प्रतिहेक्टर उत्पादकत्वमा पनि वृद्धि देखिएको छ ।
तर, उत्पादन बढाउने गरी सरकारले कार्यक्रम ल्याए पनि चैते धान खरिद बिक्री व्यवस्थापन भने बलियो हुन सकेको छैन । कमजोर व्यवस्थापनका कारण किसान मारमा परेका छन् ।
धान उत्पादन बढे पनि उचित मूल्य नपाउँदा र लगानी समेत नउठ्दा किसानले तनाव खेपिरहनुपरेको छ । चैते धान उत्पादन बढ्दा पनि मागमा आएको कमीले मूल्य घटाएर बेच्नुपर्ने बाध्यता किसानलाई छ ।