×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

कांग्रेस कार्यकर्ताद्वारा ‘नेपाली कांग्रेस सुधार अभियान यु–४०’ गठन

कांग्रेस कार्यकर्ताद्वारा ‘नेपाली कांग्रेस सुधार अभियान यु–४०’ गठन

काठमाडौँ । देशभर चलेको जेनजी आन्दोलनले उत्पन्न गरेको राजनीतिक चुनौतीलाई सम्बोधन गर्दै नेपाली कांग्रेसभित्र युवामुखी सुधार आवश्यक भएको निष्कर्षसहित नेपाली कांग्रेसभित्रका ४० वर्ष मुनिका युवाहरूले ‘नेपाली कांग्रेस सुधार अभियान यु–४० ’ गठन गरेका छन् । 

नेपाल विद्यार्थी सङ्घका पूर्वकोषाध्यक्ष शिव रिमालको सक्रियतामा पार्टीभित्र अवसरको न्यायोचित वितरण, युवाको पहुँच विस्तार र सङ्गठन सुधारको उद्देश्यसहित  बुधबार ४० वर्षमुनिका १०१ युवाहरूको केन्द्रीय संयोजन समिति गठन गरिएको हो।

एक विज्ञप्ति जारी गर्दै अभियानले पटक–पटक स्थगित हुँदै आएको कांग्रेस केन्द्रीय समिति बैठकप्रति असन्तुष्टि जनाएको छ । उसले पार्टी सुधार, पारदर्शिता र जवाफदेहिताको मागलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्ने बताएको छ । 

विज्ञप्तिमा कांग्रेसले तल्लो तहदेखि केन्द्रसम्म लोकतान्त्रिक मूल्यअनुसार निर्णय गर्न नसक्नु, समसामयिक चुनौतीअनुसार रूपान्तरणको मार्गमा अघि बढ्न हिचकिचाउनु र समयानुकूल नेतृत्व पुनर्गठनमा ढिलाइ हुनु दुःखद रहेको उल्लेख छ।

पार्टीभित्र आन्तरिक सुशासनलाई संस्थागत बनाउँदै आगामी सङ्घ, प्रदेश र स्थानीय तहका निर्वाचनमा कांग्रेसको तर्फबाट ४० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्न माग अभियानले राखेको छ। 

साथै, हरेक उम्मेदवार छनोट प्रक्रियामा प्राइमरी इलेक्सन अनिवार्य गरिनुपर्ने, भ्रष्टाचारविरुद्ध खबरदारी र लोकतन्त्र संरक्षणका लागि नयाँ बहस र पैरवी आवश्यक रहेको अभियानले बताएको छ ।

प्रतिकृया दिनुहोस्