काठमाडौं । मोबाइलको बढ्दो प्रयोग र इन्टरनेटको पहुँच बढेसँगै पछिल्लो समय विद्युतीय कारोबार उल्लेख्य रुपमा बढेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो समय साना तथा खुद्रा कारोबारका लागि पनि डिजिटल कारोबार सहज भएको हो ।
चालु आर्थिक वर्ष कात्तिक महिना मात्र २८ खर्ब ७७ अर्ब ९६ करोड २ लाख रुपैयाँ डिजिटल कारोबार भएको छ । मौद्रिक कारोबारहरु भौतिकभन्दा विद्युतीय प्रणालीबाट अत्याधिक हुँदै गएपछि एक महिनाको अन्तरालमा नै विद्युतीय भुक्तानीको कारोबार ३० प्रतिशतले बढेको हो । असोज महिनामा ६६ खर्ब ८ अर्ब ४९ करोड ८ लाख रुपैयाँ विद्युतीय कारोबार भएको थियो ।
विद्युतीय भुक्तानी सेवा अन्तर्गत कनेक्ट आइपीएस, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट र क्यूआरमार्फतको भुक्तानी गर्दै आएको बैंकले जनाएको छ । यी विभिन्न साधनहरुमध्ये प्रयोगकर्ताको पहिलो रोजाई भने मोबाइल बैंकिङ रहेको छ ।
चालु आर्थिक वर्षको कात्तिक महिनामा मोबाइल बैंकिङमार्फत मात्र ४ करोड ३९ लाख ८२ हजारभन्दा बढी पटक लेनदेन भएको छ । सो संख्यामा लेनदेन हुँदा ३ खर्ब ७४ अर्ब ६६ करोड ५ लाख रुपैयाँ भुक्तानी भएको हो ।
यस्तै, कात्तिक महिनामा कनेक्ट आइपिएस मार्फत १६ लाख ४९ हजार पटकमा १ खर्ब ६३ अर्ब ३२ करोड १ लाख रुपैयाँ भुक्तानी भएको छ । क्यूआर कोडमार्फत हुने भुक्तानी १ करोड ९३ लाख ११ हजार पटकमा ६६ अर्ब ८७ करोडभन्दा बढी भएको छ ।
कात्तिकमा डेबिट कार्ड मार्फत ९४ अर्ब ५७ करोड ६ लाख रुपैयाँ र क्रेडिट कार्डमार्फत २ अर्ब १ करोड ८ लाख रुपैयाँ कारोबार भएको छ भने इन्टरनेट बैंकिङ मार्फत १६ अर्ब ३७ करोड ६ लाख रुपैयाँ र वालेट मार्फत ३७ अर्ब ३१ करोड ७ लाख रुपैयाँ कारोबार भएको हो ।
चालु आर्थिक वर्षको कात्तिक महिनामा रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीबाट मात्रै ७८ खर्ब १९ अर्ब ८६ करोड ९ लाख रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ । यस्तै, कात्तिकमा इलेक्ट्रोनिक चेक क्लियरेन्स ९इसीसी० मार्फत ४ खर्ब ३९ अर्ब ९८ करोड रुपैयाँ बराबरको भुक्तानी हुँदा एटियममार्फत ९० अर्ब ५६ करोड रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ ।