×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम ९ अर्ब ७ करोड

सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम ९ अर्ब ७ करोड

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार सामान्य करेक्सन भएको नेप्से, यस दिन बढेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ९.२३ अंक बढेर २ हजार ७ सय १४ दशमलव ६१ विन्दुमा पुगेको छ।  नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। बुधबार ८ अर्ब ९२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३२ स्टकको ९४ हजार १७४ पटकको कारोबारमा ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँबराबरको १ करोड ९० लाख ७५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २।३८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.१५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४० करोड ८२ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन मञ्जुश्री फाइनान्सको करिब ३६ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने एसवाई प्यानल नेपालको करिब ३३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन एसवाई प्यानल नेपाल, त्रिशुली जलविद्युत कम्पनी, श्रीनगर एग्रीटेक इण्डष्ट्री र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लागेको हो। त्यस्तै, यस दिन एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य ९ प्रतिशत बढेको छ।

प्रतिकृया दिनुहोस्