×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ समाचार

सरकारले तोक्यो रोल्ड ओट्सको गुणस्तर मापदण्ड, ९१ दिनपछि अनिवार्य लागू

सरकारले तोक्यो रोल्ड ओट्सको गुणस्तर मापदण्ड, ९१ दिनपछि अनिवार्य लागू

काठमाडौं । सरकारले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१’ अन्तर्गत रोल्ड ओट्सको नयाँ गुणस्तर मापदण्ड तोकेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै बजारमा उपलब्ध हुने रोल्ड ओट्स, चाँडो पाक्ने ओट्स तथा तयारी ओट्सका लागि विशेष मापदण्ड निर्धारण गरेको हो ।

मन्त्रालयका अनुसार राजपत्रमा सूचना प्रकाशित भएको मितिले ९१औँ दिनदेखि उक्त व्यवस्था देशभर अनिवार्य रूपमा लागू हुनेछ ।

सूचनामा रोल्ड ओट्स भन्नाले स्वच्छ र सफा जई दलेर, भुस हटाई, बफ्याएर, रोलर वा अन्य उपयुक्त विधिबाट चेप्टो पारेर वा भुटेर तयार पारिएको खाद्य पदार्थलाई जनाइएको छ । यस्तो ओट्स मानव उपभोगका लागि सुरक्षित हुनुपर्ने र तोकिएका प्राविधिक मापदण्डभित्र रहनुपर्ने उल्लेख छ ।

नयाँ मापदण्ड अनुसार रोल्ड ओट्समा ओसको मात्रा बढीमा १२ प्रतिशत र प्रोटिनको मात्रा सुक्खा तौलका आधारमा कम्तीमा १० प्रतिशत हुनुपर्नेछ । यस्तै क्रुड फाइबर बढीमा २ प्रतिशत, कुल भष्म बढीमा २ प्रतिशत र स्वास्थ्यका लागि हानिकारक मानिने अफ्लाटक्सिन प्रतिकिलो १५ माइक्रोग्रामभन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ ।

त्यसैगरी अल्कोहोलिक अम्लता ९० प्रतिशत अल्कोहलमा सल्फ्युरिक एसिडका आधारमा गणना गर्दा बढीमा ०.१८ प्रतिशत मात्र हुनुपर्ने छ । युरिक एसिड प्रतिकिलो १ सय मिलिग्राम र माइकोटक्सिन (कुल अफ्लाटक्सिन) १५ माइक्रोग्राम प्रतिकिलोभन्दा बढी हुन नहुने सीमा तोकिएको छ ।

गुणस्तर मापदण्डले ओट्सको स्वच्छतामा कडाइ गर्दै बाह्य रङ प्रयोग गर्न नपाइने, स्वाद र बास्ना स्वाभाविक हुनुपर्ने उल्लेख गरेको छ । साथै ढुंगा, बालुवा, काँच, प्लास्टिक, धातुका टुक्रा, कपाल, भुस, चोकर, किरा वा मुसाको अंशजस्ता कुनै पनि अजैविक तथा जैविक फोहोर पदार्थ पूर्ण रूपमा निषेध गरिएको छ ।

मन्त्रालयले ओट्सको उत्पादन, प्याकेजिङ, ह्यान्डलिङ र भण्डारण गर्दा उच्चस्तरको स्वच्छता कायम गर्नुपर्ने निर्देशन दिएको छ । प्याकेजिङका क्रममा रोल्ड ओट्स अनिवार्य रूपमा सफा र सुक्खा ‘फुड ग्रेड’ सामग्रीमा सिलबन्द गर्नुपर्ने र लेबलमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ ले तोकेका सबै विवरण स्पष्ट उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस्