×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

जेनजीको खर्च आम्दानीभन्दा बढी, २७ वर्षपछि मात्र बचत सुरु

जेनजीको खर्च आम्दानीभन्दा बढी, २७ वर्षपछि मात्र बचत सुरु

काठमाडौं । नेपालमा जेनजी तथा युवा उमेर समूहको आम्दानीको तुलनामा खर्च बढी हुने गरेको सरकारी अध्ययनले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेसनल ट्रान्स्फर एकाउन्ट (एनटिए) प्रतिवेदन अनुसार २७ वर्ष नपुग्दासम्म व्यक्तिको खर्च आम्दानीभन्दा बढी रहने र २७ देखि ४६ वर्ष उमेर समूहमा मात्र बचत सम्भव हुने देखिएको हो ।

प्रतिवेदनमा उमेरगत विश्लेषण गर्दा ० देखि २६ वर्ष र ४७ वर्षमाथिका उमेर समूहमा उपभोग श्रम आम्दानीभन्दा बढी रहेको छ । २७ देखि ४६ वर्षसम्म भने श्रम आम्दानी उपभोगभन्दा बढी देखिएको छ, जसलाई जीवनचक्र बचतको अवस्था भनिएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १५–६४ वर्ष उमेर समूहको जनसंख्या ६५ प्रतिशत रहेको छ । तर, श्रम आम्दानी र उपभोगबीच उल्लेख्य अन्तर देखिएको प्रतिवेदनले जनाएको छ । बालबालिका, युवा र वृद्ध उमेर समूहमा जीवनचक्र घाटा रहेको र उक्त घाटा पारिवारिक सहयोग, सम्पत्तिको पुनर्वितरण वा सामाजिक सुरक्षामार्फत पूरा हुने अवस्था रहेको उल्लेख छ ।

आर्थिक वर्ष २०७८/७९ लाई आधार मानेर गरिएको गणनाअनुसार एक वर्षमा मात्रै करिब १५ खर्ब २७ अर्ब रुपैयाँ बराबर जीवनचक्र घाटा रहेको छ । प्रतिवेदनले शिक्षामा निजी खर्च बढी र सार्वजनिक खर्च कम रहेको देखाएको छ भने स्वास्थ्य क्षेत्रमा सबै उमेर समूहमा सार्वजनिक खर्च निजीभन्दा बढी रहेको छ ।

प्रतिवेदनअनुसार नेपालमा युवा बेरोजगारी दर १२.७ प्रतिशत छ भने श्रम बजार सहभागिता दर ३८.५ प्रतिशत मात्र रहेको छ । औसत प्रतिव्यक्ति वार्षिक श्रम आम्दानी ८७ हजार ८ सय १४ रुपैयाँ रहेको छ ।

बेरोजगारी, न्यून तलब तथा सीमित स्वरोजगार आम्दानीका कारण उपभोग र श्रम आम्दानीबीच ठूलो अन्तर देखिएको निष्कर्ष निकाल्दै प्रतिवेदनले काम गर्न सक्ने ठूलो जनसंख्याको प्रभावकारी उपयोगका लागि रणनीतिक हस्तक्षेप आवश्यक रहेको औँल्याएको छ ।

प्रतिकृया दिनुहोस्