×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

हिमाञ्चलमा आगलागी : ९ नेपालीसहित १० जनाको मृत्यु, सबै सल्यानका

हिमाञ्चलमा आगलागी : ९ नेपालीसहित १० जनाको मृत्यु, सबै सल्यानका

काठमाडौं । भारतको हिमाञ्चल प्रदेशको सोलन जिल्लामा भएको भीषण आगलागीमा ९ नेपालीसहित १० जनाको मृत्यु भएको छ। घटनामा एक नेपाली महिला घाइते भएकी छन् भने १८ नेपाली सकुशल रहेका छन्।

सोलन जिल्लाअन्तर्गत नगर पञ्चायत अर्कीको वार्ड नम्बर–६ मा मंगलबार राति आगलागी भएको हो। आगलागीका कारण पाँच वटा भवन र आठ वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

आगलागीमा ज्यान गुमाउने सबै नेपाली कर्णाली प्रदेशको सल्यान जिल्लाका बासिन्दा रहेको जनाइएको छ। मृतकमध्ये ३३ वर्षीय धनबहादुर विक, उनकी ३० वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा, ११ वर्षीया छोरी रेणुका र २२ महिनाका छोरा रेञ्जन विक रहेका छन्। यसैगरी ४२ वर्षीय काशिराम विक, उनकी ३० वर्षीया श्रीमती टिका विक, ८ वर्षीया छोरी अनु र ६ वर्षीय छोरा सञ्जय विकको पनि मृत्यु भएको छ। उनीहरू सबै सल्यान जिल्ला शिवकुम्भ गाउँपालिका–२, टाकुरा निवासी हुन्।

प्रारम्भिक जानकारीअनुसार पाँचतले काठको भवनको माथिल्लो तलाबाट आगलागी सुरु भएको हो। उक्त भवनमा कम्तीमा २७ जना नेपाली बसोबास गर्दै आएका थिए। जाडोका कारण कोठाभित्र गुँइठा बालेर राखिएको र त्यहीबाट आगो सल्किएको अनुमान गरिएको छ। काठको संरचना भएका कारण आगो छिट्टै फैलिँदै छेउछाउका अन्य भवनसम्म पुगेको थियो।

आगलागीका क्रममा एकपछि अर्को गर्दै ग्यास सिलिन्डर विस्फोट हुँदा करिब नौ पटक ठूलो आवाज आएको स्थानीयले बताएका छन्। सूचना प्राप्त भएपछि बिहान करिब ४:३० बजे दमकल टोली घटनास्थलमा पुगेको थियो। अर्की फायर स्टेशनसहित बनलगी, बालूगञ्ज (शिमला) र अम्बुजाबाट आएका दमकल, एनडीआरएफ, प्रशासनिक टोली र स्थानीयवासीहरूको सहयोगमा करिब नौ घण्टापछि दिउँसो १:३० बजे आगो नियन्त्रणमा लिइएको हो।

घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई प्रारम्भिक राहतस्वरूप प्रति परिवार २५–२५ हजार रुपैयाँ प्रदान गरिएको छ।

प्रतिकृया दिनुहोस्