×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

विश्व

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नीलाई १७ वर्ष जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नीलाई १७ वर्ष जेल सजाय

काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७–१७ वर्षको कठोर कारावास सजाय सुनाएको छ ।

तोशाखाना अनुसन्धानसँग जोडिएको मुद्दामा शनिबार २० डिसेम्बरको दिन अदालतले खान दम्पतीलाई समान १७ वर्ष जेल सजाय सुनाएको हो । 

१७–१७ वर्षको जेल सजायसँगै अदालतले इमरान खान र बुशरा बीबीलाई १ करोड ६४ लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तोकेको छ ।

यो फैसला रावलपिण्डीस्थित अडियाला जेलमै बसेको विशेष अदालतले सुनाएको हो । इमरान खान हाल यही जेलमा थुनामा छन् ।

यो मुद्दा के हो ?

उनीहरूलाई देशले प्राप्त गरेका उपहार खरिद गर्दा अनियमितता गरेको आरोप छ । पाकिस्तानमा तोशाखाना प्रणालीअन्तर्गत विदेशबाट प्राप्त उपहारहरू राज्यको खजानामा बुझाउनुपर्ने वा तोकिएको मूल्य तिरेर खरिद गर्नुपर्ने व्यवस्था छ ।

आरोप अनुसार, इमरान खान र बुशरा बीबीले २०२१ मा साउदी युवराजबाट प्राप्त बुलगारी ब्रान्डको आभूषण सेट अत्यन्तै कम मूल्यमा खरिद गरेका थिए ।

अभियोजन पक्षका अनुसार करिब ३ लाख ८० हजार युरो मूल्य पर्ने उक्त सेट उनीहरूले करिब २९ लाख पाकिस्तानी रुपैयाँमै लिएका थिए, जसका कारण सरकारी ढुकुटीमा करोडौं रुपैयाँ बराबरको क्षति भएको दाबी गरिएको छ ।

फैसला सुनाउने न्यायाधीश शाहरुख अर्जुमन्दले दुवैलाई विश्वासघातको अभियोगमा १०–१० वर्षको कठोर कारावास र भ्रष्टाचार निवारण ऐनअन्तर्गत थप ७–७ वर्षको सजाय सुनाएका हुन् ।

प्रतिकृया दिनुहोस्