काठमाडौं । दोस्रो त्रैमासको अन्तिम कारोबार दिन अर्थात पुस ३० गते, बुधबार नेप्से सकारात्मक भएर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन पनि सामान्य अंक बढेर बन्द भएको हो।
बुधबार नेप्से परिसूचक १.५२ अंक बढेर २ हजार ६ सय ४१ दशमलव ४३ विन्दुमा पुगेको छ। यस दिन कारोबार रकम भने सामान्य घटेको छ। मंगलबार ६ अर्ब ९९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ७२ हजार ६७१ पटकको कारोबारमा ६ अर्ब २० करोड ९४ लाख ३८ हजार रुपैयाँबराबरको १ करोड २५ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २।५५ प्रतिशत बढेको हो। बाँकी ७ उपसमूहका परिसूचक भने यस दिन सामान्य बढेको हो। यस दिन बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ।
कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड २४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै ,यस दिन यूनियन हाइड्रोपावरको २३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ।
यस दिन सुपर मादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ।