काठमाडौं । सिरहामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडक खण्डमा ना.१ घ.५५३ नम्बरको ट्रक र स.९ प.७६५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आज बिहान चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ट्रक र सिरहाबाट चौहर्वातर्फ आउँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकलमा सवार पहिचान नखुलेका दुई जना पुरुष गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएको थियो । तर चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए ।
ट्रक चालक फरार रहेकाले खोजतलास भइरहेको छ भने दुवै सवारीसाधन कार्यालयतर्फ ल्याउने कार्य भइरहेको छ । मृतकका आफन्तको खोजी तथा पहिचान गर्ने कार्यसमेत भइरहेको प्रहरीले जनाएको छ ।