×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

राजीनामा दिने तयारीमा मुख्यमन्त्री सरोजकुमार यादव

राजीनामा दिने तयारीमा मुख्यमन्त्री सरोजकुमार यादव

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिने तयारी गरेका छन् । बुधबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले राजीनामा दिन लागेको एमाले स्रोतले जनाएको छ । आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि मुख्यमन्त्री यादवले राजीनामा दिन लागेका हुन् । 
सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार मुख्यमन्त्री यादवले आज बुधबार बिहान प्रदेशसभा बैठक बोलाइएको थियो । तर, उक्त बैठकमा सत्तापक्षकै सांसद अनुपस्थित हुने भएपछि बैठक दिउँसो २ बजेलाई सारिएको छ । 

नेकपा एमाले मधेस प्रदेशसभाका प्रमुख सचेतक हरिनारायण महतोले आफूहरूले मुख्यमन्त्रीलाई राजीनामा दिन सुझाव दिएको बताए ।  ‘अहिलेको अवस्थामा विश्वासको मत लिँदा पनि बहुमत पुग्न सक्ने अवस्था देखिँदैन’, महतोले रातोपाटीसँग भने, ‘त्यसैले राजीनामा दिँदा नै राम्रो हुन्छ भन्ने मेरो सुझाव छ ।’

मुख्यमन्त्री यादवले पनि आफू निकटस्थहरूसँग राजीनामा दिने मनस्थिति बनाएको बताएका छन् । ‘मुख्यमन्त्रीजीले २ बजे बस्ने प्रदेशसभा बैठकमा आफ्ना कुरा राखेर राजीनामा दिने सोच बनाउनुभएको छ’, मुख्यमन्त्री यादव निकट एक सांसदले भने– ‘राजीनामाको भाषाबारे छलफल भइरहेको छ ।’

मुख्यमन्त्री यादव गत कात्तिक २३ गते नियुक्त भएका थिए । गत कात्तिक २३ गते तत्कालीन मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । 

त्यसअघि मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएकाले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठुलो दलको नाताले एमाले नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए । तर उनको नियुक्तिको विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा परेको थियो । 

मुख्यमन्त्रीको लफडापछि प्रदेश प्रमुख भण्डारीलाई सरकारले फिर्ता गरेको छ भने सभामुख रामचन्द्र मण्डल पनि हटिसकेका छन् ।

प्रतिकृया दिनुहोस्