काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले पुस १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (पुस २८ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ११ करोड ८५ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ११ लाख ८५ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। सो शेयर खरिदका लागि गोरखा जिल्लाका अजिरकोट गाउँपालिकाको सम्पूर्ण वडाहरु र लमजुङ्ग जिल्ला दुधपोखरी गाउँपालिकाको वडा नं. १, २, ३ तथा दोर्दी गाउँपालिकाको वडा नं. ४, ५ र ६ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।