काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा ३८ अर्ब ५९ करोडको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको विवरणअनुसार साउनदेखि मंसिरसम्म स्वीकृत भएका परियोजनामार्फत ३८ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी लगानी प्रतिवद्धता आएको हो ।
उद्योग विभागका अनुसार पाँच महिनामा ४३८ वटा परियोजनाका लागि विदेशी लगानी स्वीकृत भएको छ । ५ महिनामा आएको यो प्रतिबद्धता साना, मझौला र ठुला गरी ४३८ वटा उद्योगका लागि भएको छ ।
तीमध्ये सबैभन्दा धेरै आईसीटी (सूचना तथा सञ्चार प्रविधि) क्षेत्रमा २३६ परियोजना लगानी स्वीकृत गरेको छ । पाँच महिनामा लगानी प्रतिबद्धता भएका परियोजनाहरूको आधाभन्दा बढी हिस्सा आईसीटीमा क्षेत्रमा देखिएको छ ।
यद्यपी लगानी रकमका हिसाबले भने कृषि तथा वनजन्य उद्योग क्षेत्र सबैभन्दा बढि लगानी प्रतिवद्धता आएको छ । यस क्षेत्रमा मात्रै करिब २२ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । त्यस्तै, पर्यटन क्षेत्रले उल्लेख्य स्थान ओगटेको छ, सो क्षेत्रका १ सय ३५ वटा परियोजनामार्फत १० अर्ब रुपैयाँभन्दा बढी लगानी प्रस्ताव आएको उद्योग विभागको तथ्यांकमा उल्लेख छ ।
क्षेत्रगत रूपमा हेर्दा पाँच महिनामा कुल लगानी प्रतिबद्धतामध्ये सूचना तथा प्रविधि क्षेत्रमा ५४ प्रतिशत, पर्यटन क्षेत्रमा ३१ प्रतिशत, सेवा क्षेत्रमा ६ प्रतिशत, उत्पादन क्षेत्रमा ६ प्रतिशत र कृषि क्षेत्रमा ३ प्रतिशत रहेको छ । परियोजनाको संख्या धेरै भएपनि आईसीटी क्षेत्रमा आएको लगानी रकम भने करिब १ अर्ब रुपैयाँमै सिमित छ ।
परियोजनाको आकारका आधारमा हेर्दा स्वीकृत ४३८ उद्योगमध्ये ४२३ वटा साना, ८ वटा मझौला र केवल ७ वटा ठूला उद्योगमा लगानी प्रतिवद्धता आएको छ ।
उद्योग विभागकाअनुसार मंसिर महिनामा मात्रै ५६ वटा उद्योगमा करिव १ अर्ब ९१ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । तीमध्ये अधिकांश साना उद्योग रहेका छन् । यसै अवधिमा विदेशी लगानीकर्ताले रोयल्टीबापत १ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता लैजान विभागबाट स्वीकृति पाएका छन् ।