×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

प्रवास

कम्बोडियामा गैरकानुनी काममा लगाइएका १६ नेपालीको उद्धार

कम्बोडियामा गैरकानुनी काममा लगाइएका १६ नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगी लगायत गैरकानुनी काममा लगाइएका तथा बिना भिसा बसिरहेका १६ जना नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ ।

नेपाली राजदूतावास बैंककका अनुसार मानव तस्करको प्रलोभनमा परेर विभिन्न माध्यमबाट कम्बोडिया पुगेका ती नेपालीहरू अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्याम केन्द्र र क्यासिनोमा ठगीसम्बन्धी गतिविधि तथा अन्य गैरकानुनी काममा संलग्न गराइएको अवस्थामा फेला परेका थिए ।

राजदूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरूलाई उद्धार गरी गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा नेपाल फर्काइएको जनाइएको र  अलपत्र परेका वा कठिन अवस्थामा रहेका अन्य नेपाली नागरिकलाई पनि स्वदेश फर्काउने प्रयास जारी रहेको राजदूतावासले जनाएको छ ।

राजदूतावासका अनुसार कम्बोडियामा केही नेपाली नागरिक बिना भिसा वा भिसाको अवधि सकिएपछि पनि बसिरहेको जानकारी प्राप्त भएको उल्लेख गर्दै यस्तो अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्किन सहयोगका लागि नेपाली राजदूतावास बैंकक वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गरिएको छ ।

राजदूतावासले स्क्याम केन्द्रहरूमा काम लगाइएका धेरै नेपालीको राहदानी कम्पनीले राख्ने वा स्थानान्तरणका क्रममा हराउने समस्या पनि देखिएको जनाएको छ । यस्तो अवस्थामा स्वदेश फर्किन राजदूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र उपलब्ध गराउँदै आएको पनि जानकारी दिएको छ ।

यसैबीच राजदूतावासले नेपाल सरकारले तोकेको प्रक्रिया अनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेको छ । छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड जस्ता मुलुकमा भ्रमणको बहानामा काम गर्न नजान पनि सबै नेपालीलाई अनुरोध गरिएको छ ।

प्रतिकृया दिनुहोस्