काठमाडौं । देशभर ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएका थिए । सो मध्येबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।
यही माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको हो । कुल उम्मेदवारीमध्ये तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा अन्य एक जना रहेका छन् ।
त्यस्तै, ५ जनाविरुद्ध दाबी विरोध परेको थियो । जसमा १ जनाको मात्रै खारेज भएको र अन्य ४ जनाको यथावत रहेको छ ।
जसमा नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको हो ।
प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत एक सय १० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत एक सय ६५ सदस्य निर्वाचित हुनेछन् ।