काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला २ कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।
सोमबार नेप्से परिसूचक २८.७३ अंक बढेर २ हजार ६ सय ३९ दशमलव ३७ विन्दुमा पुगेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ५ अर्ब १ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३५ स्टकको ८४ हजार ९९० पटकको कारोबारमा ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार रुपैयाँबराबरको १ करोड २४ लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.०५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक र होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३८ करोड ६९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन बन्दीपुर केबलकार एण्ड टुरिजमको करिब २१ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम साढे १७ करोड रुपैयाँ नाघेको छ।
यस दिन ६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सागर डिष्टिलरी, एसवाई प्यानल नेपाल, श्रीनगर एग्रीटेक इण्डष्ट्रीज, बन्दीपुर केबलकार एण्ड टुरिजम रु रु जलविद्युत परियोजना र बाराही हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन दरमखोला हाइड्रो इनर्जीको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने हिम स्टार उर्जा कम्पनी र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ।