×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

बञ्चरेडाँडाका पीडितले भोलिदेखि फोहोर रोक्ने

बञ्चरेडाँडाका पीडितले भोलिदेखि फोहोर रोक्ने

काठमाडौं । सरकारले फेरि पनि धोका दिएको भन्दै बञ्चरेडाँडा ल्यान्ड फिल साइट प्रभावित स्थानीयले फोहोर विसर्जन पुन रोक्ने भएका छन् । प्रभावित क्षेत्र बञ्चरेडाँडा र सिसडोलको बीचमा पर्ने धारेमा मंगलबार पत्रकार सम्मेलन गर्दै स्थानीयले बुधबारदेखि फोहोर विसर्जन रोक्ने घोषणा गरेका हुन् ।

१५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएकोमा सो अवधिभित्र कुनै काम नभएपछि पुनस् फोहोर विसर्जन रोक्न बाध्य भएको उनीहरूको भनाइ छ । पत्रकार सम्मेलनमा धुनिबेशी नगरपालिका, ककनी गाउँपालिका र बेलकेटगढी नगरपालिकाका प्रभावित स्थानीय उपस्थित थिए ।

गत १२ कात्तिकमा स्थानीयले फोहोर विसर्जन रोकेका थिए ।  फोहोर विसर्जनमा अवरोध भएपछि १४ कात्तिकमा काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै घरबाट निस्कासन हुने फोहोर घर कम्पाउण्डभित्रै राख्न भनेको थियो । पछि सहरी विकासमन्त्री कुलमान घिसिङले १६ कात्तिकमा बञ्चरेडाँडा ल्याण्ड फिल साइटमै पुगेर स्थानीयसँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएका थिए  ।

‘सहरी विकासमन्त्री कुलमान घिसिङले १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि हामीले फोहोर फाल्न दिएका हौं । तर, १५ दिन बित्दा कुनै काम नभएपछि हामी निर्णायक आन्दोलनमा जान बाध्य भएका छौं,’ पत्रकार सम्मेलनमा धुनिबेशी नगरपालिका–१ का पीडित स्थानीय हरि लामाले भने, ‘अब यस क्षेत्रमा कुनै पनि गाडीलाई फोहोर विसर्जन गर्न दिँदैनौं ।’

पत्रकार सम्मेलनमा पीडितहरूले मन्त्री घिसिङसँगको सहमतिपछि माग पूरा हुने आशा गरेकोमा सहरी विकास मन्त्रालयले काठमाडौं महानगरपालिकालाई देखाउने, महानगरले मन्त्रालयलाई देखाउने गरेर आफूहरूलाई पुन धोका दिएको निष्कर्ष सुनाए ।

‘काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएपछि ठूलो आशा गरेर बालेन शाहलाई सघायौं । महिना दिनदेखि रोकिराखेको फोहोर विसर्जन उनकै आग्रहमा खोल्यौं । तर, बालेनले साढे तीन वर्षदेखि झुलाइरहे, धोका दिए,’ धुनिवेशी–१ कै पीडित नीराजन सञ्जेलले भने, ‘कुलमान मन्त्री बनेर आएपछि फोहोर प्रभावित पीडितले आशा गरेरै उहाँले मागेअनुसार १५ दिनको समय दिए  । तर, पनि समाधान भएन  । त्यसैले भोलिदेखि आन्दोलनको विकल्प रहेन ।’

प्रतिकृया दिनुहोस्