×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

काठमाडौँ बन्यो विश्वकै दोस्रो प्रदूषित सहर

काठमाडौँ बन्यो विश्वकै दोस्रो प्रदूषित सहर

काठमाडौँ । काठमाडौँमा पछिल्ला दिनमा वायु प्रदूषण बढेको देखिएको छ । दिउँसो १ बजेको मापन अनुसार काठमाडौँ विश्वकै वायु प्रदूषण धेरै भएका सहरहरूको सूचीमा दोस्रो स्थानमा छ ।

पछिल्लो समयमा काठमाडौँ उपत्यकासहित विभिन्न सहरी क्षेत्रमा वायु प्रदूषण खराब स्तरमा पुगेको छ । वातावरण विभागका अनुसार काठमाडौँको प्रदूषण निकै अस्वस्थकर तहमा रहेको छ । वातावरण धुम्म रहने, हावाको बहाव राम्रोसँग नचल्दा प्रदूषित हावा बाहिरिन पाएको छैन । पछिल्लो एक सातादेखि उपत्यकाको वायु प्रदूषण बढेको देखिन्छ ।

मंगलबार १ बजेको मापन अनुसार काठमाडौँको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १९५ छ । जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ हो । यस्तै उपत्यकामा सबैभन्दा बढी प्रदूषण लाजिम्पाट क्षेत्रमा देखिएको छ । दिउँसो १ बजेको मापन अनुसार लाजिम्पाटको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २२६ देखिएको छ । 

त्यस्तै रानीबारी  मापन केन्द्रका अनुसार सो क्षेत्रको एयर क्वालिटी इन्डेक्स १९६ छ । क्षेत्रपाटीको एयर क्वालिटी इन्डेक्स १८८ छ । उपत्यका बाहिर मध्यपश्चिमको वीरेन्द्रनगरमा सबैभन्दा बढी वायु प्रदूषण देखिएको छ । सो स्थानमा एयर क्वालिटी इन्डेक्स २३२ छ । त्यस्तै सुदूरपश्चिम क्षेत्रको धनगढीमा एयर क्वालिटी इन्डेक्स २०९ देखिएको छ ।

स्वीट्जरल्यान्डमा मुख्यालय रहेको वायु प्रदूषणको स्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यू एयरका अनुसार, प्रदूषित सहरको सूचीमा भारतको दिल्ली २४७ (एक्यूआई) मात्र छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्डअनुसार यी सहर ‘अति अस्वस्थकर’को सूचीमा छन् ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार नेपालमा वर्षा भए पनि केही ठाउँमा बायु प्रदूषण धेरै अस्वस्थ रहेको बताएका छन् । सामाजिक सञ्जाल मार्फत पोखरेलले भनेका छन् हावा एकदमै कम चलेको, अरू देशहरू बाट पनि प्रदूषण आएको, तर कतै जान नसकेकोले हो ।

हावा चलेर राम्रो वर्षा भए मात्र हावा सफा हुने देखिन्छ जुन भोलिदेखि हुनसक्ने सम्भावना छ । वायु प्रदूषण पूर्वानुमानले बिहीबारदेखि वायुको गुणस्तरमा सुधार हुने राम्रो सम्भावना देखाउँछ, पोखरेलले भनेका छन्,जुन भोलि दिउँसोदेखि सुरु हुने मेघगर्जन र वर्षाको पूर्वानुमानसँग मेल खान्छ । हिउँदमा नेपालमा वायु प्रदूषण निकै खराब स्थितिमा पुग्ने गरेको छ । सवारीसाधनले उत्सर्जन गर्ने प्रदूषणका अतिरिक्त इँटाभट्टा र उद्योगको प्रदूषणमा हावाले भारतबाट समेत प्रदूषण सोहरेर ल्याएपछि श्वासै फेर्न मुस्किल पर्ने स्थिति निम्तिन्छ । अझ नेपालका वनजंगलमा डढेलो सल्किन थालेपछि वायु प्रदूषणको स्थिति थप खराब हुन पुग्छ ।

हावामा पीएम २ दशमलव ५ को मात्रा प्रतिघनमिटर ५० भन्दा तल भएको हावालाई स्वस्थकर मानिन्छ । ५० देखि १०० सम्मको स्थितिलाई सामान्य प्रदूषण मानिन्छ । पीएम २ दशमलव ५ को मात्रा प्रतिघनमिटर १०० देखि १ सय ५० सम्म भएमा बालबालिका, रोगीलगायत समूहका लागि अस्वस्थकर मानिन्छ । हावामा पीएम २ दशमलव ५ को मात्रा १ सय ५० देखि २०० पुगेमा सबै समूहका लागि अस्वस्थकर र २०० भन्दा बढी भएमा अत्यन्तै अस्वस्थकर मानिन्छ ।

विश्व स्वास्थ्य संगठनले हावामा आँखाले नदेखिने धूलोका कण (पीएम २ दशमलव ५)को मात्रा वार्षिक औसत ५ माइक्रोग्राम घनमिटरभन्दा बढी हुन नहुने मापदण्ड तय गरेको छ । यसअनुसार नेपालको हावा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा झन्डै साढे आठगुणा बढी प्रदूषित देखिएको छ । यस्तो प्रदूषित हावा स्वास्थ्यका लागि निकै जोखिमपूर्ण मानिन्छ । सन् २०१९ को एउटा तथ्यांकले नेपालमा वायु प्रदूषणसम्बन्धी रोगका कारण बर्सेनि ४२ हजार जनाको ज्यान गइरहेको देखाएको थियो ।

प्रतिकृया दिनुहोस्