काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फ पेश गरिएका बन्दसूचीबाट विभिन्न १८ दलबाट १६४ जना उम्मेदवारले सोमबार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन आयोगका अनुसार १८ राजनीतिक दलका १६४ जना उम्मेदवारले नाम फिर्ता लिएका हुन् । नाम फिर्ता लिएकाहरूको ठाउँमा अर्को नाम पठाउन निर्वाचन आयोगले सम्बन्धित दललाई सूचित गरेको आयोगले जनाएको छ ।
समानुपातिक सुचीबाट सबैभन्दा धेरै उम्मेदवारी फिर्ता लिनेमा लोकतान्त्रिक समाजवादी पार्टीका ७८ जना रहेका छन् । लोसपाले जसपासँग पार्टी एकता गरेपछि समानुपातिक सुचीका नाम फिर्ता गरेको हो । त्यसपछि जनता समाजवादी पार्टी नेपालका २१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
तेस्रोमा जनमत पार्टीका २० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । चौथो धेरै नाम फिर्ता लिनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका १२ जना रहेका छन् ।
त्यसैगरी जनादेश पार्टी नेपालका ६ जना, नेकपा एमालेका ५ जना, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का ४ जना, राष्ट्र निर्माण दल नेपालका ४ जना उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
फिर्ता लिएकाको ठाउँमा सम्बन्धित पार्टीले अर्को व्यक्तिको नाम पठाउनेछ । निर्वाचन आयोगले नयाँ आएका नाम समेत समावेश गरेर माघ ४ गते बन्दसूचीको नामावली प्रकाशित गर्नेछ । प्रकाशित नामउपर दाबी विरोधका लागि माघ ५ गते देखि माघ १० गतेसम्मको समय रहनेछ ।
दाबी विरोधको उजुरीमाथि माघ ११ देखि माघ १७ गतेसम्म निर्वाचन आयोगले अध्ययन गर्नेछ । उक्त सूचीमा कसैको नाम हटाउनुपरे माघ १९ गते निर्वाचन आयोगले सूचना प्रकाशन गर्ने कार्यतालिका छ ।
माघ २० माघमा समानुपातिक उम्मेदवारको अन्तिम सूची प्रकाशन हुनेछ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ मा हुँदैछ ।
२७५ सदस्यीय प्रतिनिधिसभाका लागि समानुपातिक तर्फबाट ११० जना निर्वाचित हुन्छन् । १६५ जना प्रत्यक्ष चुनाव जितेर आउँछन् । प्रत्यक्ष तर्फको मनोनयन दर्ता भने आगामी माघ ६ गते हुनेछ ।
कुन दलबाट कति उम्मेदवारले बन्दसूची फिर्ता लिए ?
