काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार सामान्य अंक घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
बिहीबार नेप्से परिसूचक १.६६ अंक घटेर २ हजार ६ सय ७ दशमलव ३७ विन्दुमा झरेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। बुधबार ३ अर्ब ७३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२६ स्टकको ६९ हजार ७२९ पटकको कारोबारमा ३ अर्ब ४९ करोड ७९ लाख ७९ हजार रुपैयाँबराबरको ७७ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड ९७ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको करिब साढे १२ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने सागर डिष्टिलरीको कारोबार रकम साढे ९ करोड रुपैयाँ नाघेको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन ७.२५ प्रतिशत एसबिएल डिबेञ्चर २०९१ को मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने श्रीनगर एग्रीटेकको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ।