×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

बैंक/वित्त

हालसम्म १३ वाणिज्य र ८ विकास बैंकले गरे लाभांश घोषणा, बोनस र नगद कसको कति ?

हालसम्म १३ वाणिज्य र ८ विकास बैंकले गरे लाभांश घोषणा, बोनस र नगद कसको कति ?

काठमाडौं ।  १३ वाणिज्य र ८ विकास बैंकले  सेयरधनीका लागि लाभांश घोषणा गरेका छन् । जसमा २०८२ मंसिरको अन्तिम सातासम्म लाभांश घोषणा गरेका १३ वाणिज्य बैंक र ८ विकास बैंकमध्ये एभरेष्ट लाणिज्य बैंक र मुक्तिनाथ विकास बैंकले सर्वाधिक लाभांश घोषणा गर्दा कुमारी बैंकले भने आफ्ना सेयर धनीको हात खाली बनाएको छ । 

हालसम्म लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमा एनएमबि बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, एभरेष्ट बैंक र माछापुच्छ्रे बैंक र कुमारी बैंक रहेका छन् ।

त्यस्तै, विकास बैंकमध्ये हालसम्म कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र ग्रिन डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेका छन् ।

केही बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गरी वार्षिक साधारणसभाबाट पारित समेत गरिसक्दा केहीको भने घोषणा हुन बाँकी छ । यस वर्ष धेरैजसो बैंकहरूको लाभांश दर अघिल्ला वर्षको तुलनामा केही घटेको देखिएको छ ।

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ४ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशत नगद गरी कुल ८ प्रतिशत लाभांश वितरण गरेको छ । गत असोज १० गते पोखरामा सम्पन्न २७औँ वार्षिक साधारणले उक्त लाभांश पारित गरिसकेको छ । 

एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि १४ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको छ । कात्तिक १२ गते बिहान ११ बजे ३१औँ वार्षिक साधारण सभाले पारित गरेको थियो । 

सानिमा बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित ७.३६ प्रतिशतका दरले नगद लाभांश वितरण गरेको छ । कात्तिक २ गते बिहान १० बजे काठमाडौंमा सम्पन्न २१औँ वार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ ।

सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८१/८२ को ५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गरेको छ । मंसिर १२ गते सम्पन्न १९औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । 

सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनसहित ५.५३ प्रतिशतका दर नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गरेको हो । कात्तिक ३० गते सम्पन्न २४औँ वार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ । 

ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको करसहित ८ प्रतिशतका दरले रुपैयाँनगद लाभांश वितरण गरेको छ । कात्तिक २६ गते सम्पन्न १९औँ वार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको करसहित १९ प्रतिशतका दरले नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले मंसिर २९ गते काठमाडौंमा बिहान १० बजे ३९औँ वार्षिक साधारण सभा बोलाएको छ । 

कृषि विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ३.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि ९.७५ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले मंसिर २९ गते बोडे भक्तपुरमा बिहान ११ बजे १९औँ वार्षिक साधारण सभा बोलाएको छ । 

लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशतका दरले नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

एनएमबि बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थसहित ५ प्रतिशतका दरले नगद गरी कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनसहितका लागि ५ प्रतिशतका दरले नगद गरी कुल ९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस १८ गते भद्रकाली, काठमाडौंमा बिहान ११ बजे ३२औँ वार्षिक साधारण सभा बोलाएको छ । 

नबिल बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १२.५ प्रतिशतका दरले नगद लाभांश प्रस्ताव गरेको छ यस्तै, कुमारी बैंकको कार्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। गत वर्ष पनि कुमारी बैंकले सेयरधनीलाई कुनै लाभांश दिएको थिएन ।  

त्यसैगरी, मितेरी डेभलपमेन्ट बैंकले हालै आफ्ना सेयरधनीहरुलाई कुल १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरी वार्षिक साधारणसभाबाट पारित गरेको छ । बैंकले यसपटक बोनस सेयर नदिई शतप्रतिशत रूपमा केवल नगद लाभांश मात्रै वितरण गर्ने निर्णय गरेको हो ।

गरिमा विकास बैंकले पनि गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई कुल १०. ५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरी वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ । बैंकले ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश गरि १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव आफ्नो १९औं वार्षिक साधारण सभाबाट पारित गरेको हो ।

मुक्तिनाथ विकास बैंकले भने गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको १८ दशमलव २ प्रतिशत लाभांश प्रस्ताव वार्षिक साधारण सभाबाट पारित गरेको छ । १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको बैंकले कात्तिक १५ गतेको साधारण सभाबाट परित गरेको हो । 

त्यसैगरी कामना सेवा विकास बैंकले पनि वार्षिक साधारण सभाबाट आफ्ना सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकले पनि गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५. ७८ प्रतिशत नगद गरि १५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पनि गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई कुल १३ प्रतिशत लाभांश घोषणा गरेको छ । प्रस्तावित लाभांशमा ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश राखिएको छ । बैंकले कले यही मंसिर २६ गते शुक्रबार होटल सेफ्रन सिके बुटवलमा १७औं वार्षिक साधारण सभा डाकेको छ ।

महालक्ष्मी विकास बैंकले पनि गत आर्थिक वर्षको नाफाबाट कुल १०.३७ प्रतिशत लाभांश घोषणा गरेको छ । यसमध्ये ५ प्रतिशत बोनस सेयर र ५.३७ प्रतिशत नगद लाभांशदिने घोषणा गरेको छ । महालक्ष्मी विकास बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति हालसम्म तोकेको छैन ।

यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकपनि गत आर्थिक वर्षको वितरणोग्य नाफबाट सेयरधनीहरुलाई ८.४६२७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले हाल कायम चुत्ता पुँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र सो बोनसमा लाग्ने कर प्रयोजनार्थ ०.४२३१४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकले १०.३५८३ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ५ प्रतिशत बोनस सेयर र करसहित ५.३५८३ प्रतिशत नगद लाभांश घोषणा गरेको बैंकको यसवर्षको वार्षिक साधारण सभा भने सम्पन्न भएको छैन । बैंकले वार्षिक साधारण सभाको लागि आफ्ना सेयरधनीलाई पुस ७ गते डाकेको छ ।
 

प्रतिकृया दिनुहोस्