काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता महेश्वर दाहालले पार्टीभित्र आत्मसमीक्षा गर्दै कार्यशैली सुधार्नुपर्ने बताएका छन् । पार्टी केन्द्रमा पेश प्रस्तावमा उनले केही नेता तथा कार्यकर्ताको भ्रष्टाचार र अनैतिक आचरणका कारण पार्टीको त्याग र बलिदानको मूल्य घट्दै गएको उल्लेख गरेका छन् ।
उनका अनुसार पार्टीभित्र करिब १०–८ प्रतिशत गलत प्रवृत्तिका व्यक्तिहरूले गरेको भ्रष्टाचार र व्यभिचारले परिवर्तनका लागि गरिएको संघर्षलाई जनतामाझ उपहासको विषय बनाएको छ । “हाम्रो बलिदान र परिवर्तनको संस्कृति जोगाउन जनताको विश्वास पुनः आर्जन गर्न आवश्यक छ,” दाहालले भने, “यसका लागि सबैभन्दा पहिले पार्टीले आफ्नै कार्यशैली सुधार्नुपर्छ।”
दाहालले आत्मआलोचनाको संस्कृति विकास गर्न जोड दिँदै सबै नेता तथा कार्यकर्ताले आफ्ना कमजोरीमाथि इमानदार समीक्षा गर्नुपर्ने बताए । “आफ्नै कमजोरी स्वीकार गरेर सुधार नगरे अरूले औंला ठड्याउने अवस्था आउँछ,” उनको भनाइ थियो ।
उनले पार्टीको प्रभाव प्रयोग गरी अपारदर्शी रूपमा आर्जन गरिएको सम्पत्ति पार्टीकरण गर्नुपर्ने प्रस्तावसमेत अघि सारेका छन् । त्यस्ता सम्पत्ति जनयुद्धका क्रममा पीडित परिवारको पालनपोषण र संरक्षणका लागि प्रयोग गर्नुपर्ने र अकुत सम्पत्ति देखिएमा राष्ट्रियकरण गर्नुपर्ने उनको माग छ ।
आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा दाहालले पार्टीले स्पष्ट र नैतिक प्रतिबद्धता जनाउनुपर्ने बताए । चुनाव जनताको विश्वास र सेवाका लागि लडिनुपर्ने उल्लेख गर्दै उनले विवादास्पद व्यापारी, ठेकेदार वा स्वार्थ समूहको पैसाबाट चुनाव सञ्चालन नगर्ने प्रतिबद्धता आवश्यक रहेको बताए ।
आगामी प्रतिनिधिसभा निर्वाचन जनताको विश्वास र सेवाका लागि लडिनुपर्ने उल्लेख गर्दै उनले चुनाव खर्च पारदर्शी बनाउन छुट्टै बैंक खाता र औपचारिक बैंकिङ प्रणालीमार्फत मात्र चन्दा संकलन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
पैसाले होइन, जनविश्वासले चुनाव जित्ने राजनीति निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन् ।