काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले माघ ६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज ९माघ ९ गते० अन्तिम दिन रहेको छ।
कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने २ करोड २२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २ लाख २२ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।