काठमाडौं । सुपरमादी हाइड्रोपावर लिमिटेडको १ करोड ९८ लाख ८९ हजार १०० कित्ता शेयरको 'लकइन' अवधि आगामी माघ २१ गतेपछि सकिने भएको छ।
कम्पनीले सर्वसाधारणका लागि २०७९ साल माघ २३ गते शेयर बाँडफाँट गरेको थियो। सोही मितिबाट तीन वर्षका लागि लकइनमा रहेको संस्थापक, कर्मचारी र स्थानीय बासिन्दाको शेयर अब कारोबार योग्य हुन लागेको हो।
कम्पनीका अनुसार लकइन अवधि सकिन लागेका शेयरहरूमध्ये संस्थापक समूहको १ करोड ८७ लाख ४२ हजार ५०० कित्ता, आयोजना प्रभावित स्थानीयको ११ लाख २ हजार ५०० कित्ता र कर्मचारीको ४४ हजार १०० कित्ता रहेका छन्। माघ २१ पछि यी शेयरहरू दोस्रो बजारमा खरिद–बिक्रीका लागि योग्य हुनेछन्।
यसैबिच, कम्पनीले गत पुस ४ गते सम्पन्न वार्षिक साधारण सभाबाट आर्थिक वर्षको मुनाफाबाट कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ। जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश समावेश छ।
सभाले ५ प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीमा ५० प्रतिशत (१:०.५ अनुपात) हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ। बोनस शेयरपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँ पुगेको छ। कम्पनी अब सोही पूँजीको आधारमा हकप्रद शेयर निष्कासनको प्रक्रिया अघि बढाउने तयारीमा रहेको छ।