वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ७२ अर्ब २८ करोड रुपैयाँ मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयले पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट मात्र सो अवधिमा ३० अर्ब २५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आर्थिक वर्षको पाँच महिनामा पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्वमा पनि वृद्धि भएको बताए ।
गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा भने ६।४२ प्रतिशत अर्थात् १ अर्ब ८३ करोड रुपैयाँ बढी राजस्व सङ्कलन भएको हो । जबकि गत आर्थिक वर्षको पाँच महिनामा भने ६९ अर्ब १५ करोड रुपैयाँ मूल्यका पाँच थरिका पेट्रोलियम पदार्थको आयात भएको थियो । चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्ज हुँदै ३५ अर्ब ३१ करोड रुपैयाँ मूल्यको डिजेलको आयात भयो ।
त्यसैगरी १७ करोड ३६ लाख रुपैयाँ मूल्यको पेट्रोल र १२ अर्ब १७ करोड रुपैयाँको एलपी ग्यासको पनि आयात भयो । त्यस्तै ७ अर्ब २५ करोड रुपैयाँको एटिएफ र १९ करोड रुपैयाँको मट्टितेल आयात भएको छ ।