काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (साउन-मंसिर) मा खरबुजाको बिउ आयात ह्वात्तै बढेको छ । उक्त अवधिमा खरबुजाको बिउ आयातका लागि लागि नेपालबाट ८८ करोड रुपैयाँभन्दा बढी बाहिरिएको हो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष साउन-मंसिर अवधिमा ३९ लाख ३२ हजार ८ सय ३२ किलो खरबुजाको बिउ आयात भएको छ । यस अवधिमा उक्त परिमाणको खरबुजाको बिउ आयात हुँदा ८८ करोड २९ लाख ८३ हजार रुपैयाँ बाहिरिएको छ ।
यसबाट सरकारले २२ करोड ६७ लाख ८० हजार रुपैयाँ बराबर राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ सोही अवधिमा २ करोड ८१ लाख ९१ हजार रुपैयाँको ९४ हजार १ सय १३ किलो मात्रै खरबुजाको बिउ आयात भएको थियो ।
गत वर्षको तुलनामा यस वर्ष आयात परिमाण र रकम दुवैमा देखिएको यो 'ह्वात्तै' वृद्धिको कारण स्वदेशमा खरबुजा खेतीको विस्तार वा आयातित बीउको बढ्दो माग हुनसक्ने अनुमान गरिएको छ।