×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

बैंक/वित्त

चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा, मुद्रास्फीति १.११ प्रतिशतमा झर्यो

चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा, मुद्रास्फीति १.११ प्रतिशतमा झर्यो

काठमाडौं । मुलुकको चालु खाता र शोधानान्तर स्थिति दुवै बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको तथ्याङकले यस्तो देखाएको हो ।

समीक्षा अवधिमा चालु खाता रु.२७९ अर्ब ६५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१४७ अर्ब ७८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ९९ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.६ अर्ब २१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु. २ अर्ब ४७ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.२ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.५ अर्ब ७६ करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.३१८ अर्ब ४० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२०५ अर्ब ८३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २६ करोडले बचतमा रहेको छ ।

मुद्रास्फीति १.११ प्रतिशतमा झर्यो, सबैभन्दा बढी महँगी कोशी प्रदेशमा

२०८२ कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.११ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३२ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६९ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ९.१० प्रतिशत र ३.६५ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८२/८३ को चार महिनाको औसत मुदास्फीति १.५३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.५९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.२५ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.६१ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको १.९७ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १४.४३ प्रतिशत, मरमसलाको ७.८५ प्रतिशत र दाल तथा गेडागुडीको ५.३६ प्रतिशतले घटेको छ ।

समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.६६ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.२६ प्रतिशतले बढेको छ ।

प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशकोे वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.८० प्रतिशत, मधेश प्रदेशको १.७३ प्रतिशत, बागमती प्रदेशको ०.८१ प्रतिशत, गण्डकी प्रदेशको ०.३७ प्रतिशत, लुम्बिनी प्रदेशको १.२७ प्रतिशत, कर्णाली प्रदेशको १.०८ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ०.२६ प्रतिशत रहेको छ ।

प्रतिकृया दिनुहोस्